भारत निर्वाचन मतगणना: के नरेन्द्र मोदी फेरि सत्तामा आउलान् भन्ने प्रश्नको उत्तर आउँदै

नरेन्द्र मोदी

तस्बिर स्रोत, Getty Images

लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् अन्तत: भारतीय मतदाताले बिहीवार विजेता थाहा पाउँदैछन्।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा पाएको बहुमत कायम राख्न यसपटक धेरै मेहनत गरेको छ।

देशभरि मोदीको चुनावी सङ्घर्ष विपक्षी कंग्रेस तथा शक्तिशाली क्षेत्रीय दलहरूसँग भएको थियो।

मतदान गरेर फर्किएका मतदाताहरूसँग सोधेर गरिएका एक्जिट पोल भनिने मत सर्वेक्षणहरूले मोदीले पुन: जित्ने भविष्यवाणी गरेका छन्। तर विश्लेषकहरूले विगतमा त्यस्ता सर्वेक्षणका परिणाम गलत ठहरिएकाले सजग रहन भनेका छन्।

India Election 2019
अन्तिम परिणाम
अन्तिम अप्डेट:
13:11 स्थानीय समय
350
bjp+
85
inc+
107
Others
स्रोत: स्रोत: निर्वाचन आयोग, भारत
अन्तिम अप्डेट: 13:11 स्थानीय समय
स्रोत: स्रोत: निर्वाचन आयोग, भारत

अन्तिम तथा सातौँ चरणको मतदान आइतबार सम्पन्न भएको थियो।

मतगणना बिहीवार स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु हुनेछ।

यसपालिको निर्वाचनलाई मोदीको नेतृत्वको जनमतसङ्ग्रहजस्तो मानिएको छ।

निर्वाचन

तस्बिर स्रोत, .

भारतमा मोदीलाई एक विभाजनकारी व्यक्तित्व मानिन्छ जसलाई कैयौँले मन पराउँछन् भने कतिपयले देशमा विभाजन भड्काएका आरोप पनि लगाउँछन्।

निर्वाचनमा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कुल ५४३ सीट रहेको लोकसभामा कम्तीमा २७२ सीट जित्नुपर्नेछ।

सन् २०१४ मा भाजपाले २८२ सीट जितेको थियो। त्यतिखेर कंग्रेस केवल ४४ सीटमा खुम्चिएको थियो।

विश्वको सबभन्दा विशाल निर्वाचन

यो वर्ष भारतको निर्वाचनमा ९० करोड योग्य मतदाता थिए। यो सङ्ख्या विश्वको कुनैपनि निर्वाचनमध्ये सबभन्दा धेरै हो।

झन्डै आठ हजार उम्मेदवार तथा ६७० राजनीतिक दलको भाग्यको निर्णय यो निर्वाचनले गर्दैछ।

निर्वाचन

भारतीय निर्वाचन आयोगले परिणाम चरणबद्ध रूपमा प्रकाशित गर्नेछ। तर कसले जित्दैछ भन्ने सङ्केत केही घण्टाभित्रै वा अलि बढी समयभित्र थाहा हुन सक्नेछ।

अन्तिम परिणाम बिहीवार अबेर वा शुक्रवार सबेरै आउन सक्ने अपेक्षा छ।

इलेक्ट्रोनिक भोटिङ मेसिनको नतिजालाई प्रिन्ट गरिएका मतपत्रसँग रुजु गर्नु पर्ने हुँदा गणनामा केही ढिलाइ पनि हुन सक्छ।

कसले जित्दैछन्?

भाजपाका लागि मोदी नै मुख्य आकर्षणका केन्द्र हुन्। सो दल र उसका गठबन्धन सहयोगीले केही सीट कम जितेपनि बहुमत कायमै राख्ने ठानिएको छ।

आलोचकहरू मोदी सरकारको पालामा तीव्र आर्थिक वृद्धि तथा रोजगारका वाचा उसले पूरा गर्न विफल भएको र देशमा धार्मिक विभाजनका रेखा खिचिएको बताउँछन्।

ममता बेनर्जी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीसँग भाजपाको चर्काचर्की भएको छ

मोदीका मुख्य प्रतिस्पर्धी कंग्रेस नेता राहुल गान्धी हुन्।

भारतीय राजनीति नेहरू-गान्धी परिवारको पकडबाट असन्तुष्ट भएको ठानिएको बेला राहुल गान्धी भारतको मत पुन: जित्ने कोसिसमा छन्।

तर पार्टीले बहुमत जित्ने कमै सम्भावना छ। महत्त्वपूर्ण राज्यमा कंग्रेसले चुनावपूर्व गठबन्धन बनाउन पनि सकेन।

यदि दुवै दलमध्यै कसैले पनि बहुमत ल्याएन भने शक्तिशाली क्षेत्रीय दलहरू त्रिशङ्कु संसद्‌मा निर्णायक बन्न सक्छन्।

थुप्रै एक्जिट पोलले यस्तो परिणाम सम्भव नभएको र भाजपाकै विजयको सङ्केत गरेका छन्। तर विपक्षी दलहरूले यस्ता प्रक्षेपण अस्वीकार गरेका छन्।

जसले उत्तर प्रदेशमा जित्छ उसैले भारत जित्छ भन्ने मान्यता छ। यो विशाल उत्तर भारतीय राज्यले सबभन्दा धेरै अर्थात् ८० सांसद चुन्छ।

सन् २०१४ मा भाजपाले त्यहाँ ७१ सीट जितेको थियो। यसपटक त्यति नै धेरै सीट उसले जित्ला जस्तो देखिँदैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारत निर्वाचन

एउटा आश्चर्यजनक घटनाक्रममा त्यहाँका कट्टर विरोधी दुई क्षेत्रीय दल बहुजन समाज पार्टी र समाजवादी पार्टीले महागठबन्धन बनाएका थिए। तिनले भाजपालाई कडा टक्कर दिन सक्नेछन्।

त्यसैले त्यहाँ हुने कुनैपनि नोक्सानीलाई पश्चिम बङ्गाल राज्यबाट पूर्ति गर्ने सुरमा भाजपा देखिन्छ। त्यहाँको ४२ सांसद सीटमा अघिल्लो चुनावमा भाजपाको केवल दुई सीट थियो।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जी त्यहाँ भाजपाको निम्ति मुख्य प्रतिस्पर्धी हुन्।

निर्वाचन अभियानका बेला त्यहाँ बेनर्जी र भाजपाबीच निकै चर्काचर्की भएको थियो।

दक्षिण भारतका पाँच राज्यमध्ये चारवटा - आन्ध्र प्रदेश, तेलङ्गाना, तमिलनाडू र केरला - मा भाजपा सधैँ पछि परेको छ। अघिल्लो चुनावमा यी राज्यहरूका कुल ९१ सीटमध्ये भाजपासँग केवल चार सीट थियो।

यी क्षेत्रमा भाजपाले आफू थोरै सीटमा लडेर क्षेत्रीय दलहरूसँग गठबन्धन गरेको छ।

भारत निर्वाचन