भूकम्पः पाकिस्तानको बलोचिस्तानमा भूकम्प जाँदा कैयौँको मृत्यु

पाकिस्तान भूकम्प

तस्बिर स्रोत, EPA

पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीवार बिहानै भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।

भूकम्पले भत्काएका घरहरूका भग्नावशेषहरूमा मानिसहरू पुरिएका अनुमानका माझ विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ।

मारिनेमा महिला तथा बालबालिकाहरू पनि रहेका रोएटर्स समाचार एजेन्सीले जनाएको छ।

अमेरिकाको यूएस जिओलोजिकल सर्भेकाअनुसार भूकम्प ५.९ म्याग्निट्यूडको थियो र यसको गहिराइ ९ किमि मात्र थियो। यतिको कम गहिराइमा जाने भूकम्पले सामान्यतया बढी क्षति पुर्याउने गर्छन्।

उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई जनाए अनुसार कम्तिमा १५० जना घाइते भएका थाहा भएको छ।

ति मध्ये केहीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भैरहेको छ।

भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरहरूमा देखिन्छ।

पाकिस्तान भूकम्प

तस्बिर स्रोत, EPA

गम्भीर घाइते

भूकम्पका कारण संरचनाहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए।

विवरणहरूमा जनाइएअनुसार एक सयभन्दा बढी कच्ची घर र केही ठूला भवनहरू भत्किएका छन्।

पाकिस्तान

भूकम्पबाट हरनई क्षेत्रमा धेरै क्षति पुगेको हुनसक्ने अधिकारीहरूले बताएका छन।

क्वेटा शहरको पूर्वमा पर्ने हरनईमा ठूलो सङख्यामा कोइलाखानीहरू छन् जो भूकम्पमा भत्किएको हुनु पर्ने अनुमान गरिएको छ।

बलोचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाह लङ्गुले प्रभावित क्षेत्रमा आपत्‌कालीन सेवा शुरू गरिएको बीबीसीलाई बताएका छन्।